फिदिम । पाँचथरको फिदिम नगरपालिका ४ सखरखण्डेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने बसका चालकसहित ६१ जना घाइते भएका छन् ।

 

आज बिहान ११ बजे पाँचथरको सविखोलाबाट फिदिमतर्फ आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरी दुर्घट्ना हुँदा बसमा सवार ४ जनाको मृत्यु भएको हो ।

 

बसमा सवार लेटाङ नगरपालिका ६ मोरङका ७ बर्षीय प्रज्वल मगरको पाथीभरा अस्पताल, ईलाम बस्ने ३४ बर्षीया प्रमिला देवानको जिल्ला अस्पताल, उनकै ७ महिने छोरा निश्चल देवान र आशिका बुढाथोकीको समर्पित अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

 

सो दुर्घटनाबाट गम्भीर घाईते भएका १२ जनालाई थप उपचारको लागी झापातर्फ पठाइएको तथा अन्य घाइतेहरुको फिदिमका बिभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

 

यसैबीच, दुर्घटनामा परि घाइते भएकामध्ये १५ जनालाई थप उपचारको लागि हेलिकोप्टरबाट धरान लगिएको छ ।

 

गम्भीर घाइते भएकाहरूलाई नेपाली सेनाको धरानबाट एआई १७ नामक हेलिकोप्टरले थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको हो ।

 

यसअघि गम्भीर घाइते भएकामध्ये १२ जनालाई झापाको विभिन्न अस्पतालमा रेफर गरिएको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।