खोटाङ । हङकङमा बसेर पत्रकारिता गरिरहेका ५४ वर्षीय पत्रकार किसन राईको भिरबाट लडेर ज्यान गएको छ ।
काठमाण्डौबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जाने क्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ दोर्पाचिउरीडाँडामा रहेको पङ्खु खोलामा हिजो (आइतबार) बेलुका भिरबाट लडेर पत्रकार राई ज्यान गएको हो ।
ओखलढुङ्गाको मोलुङ गाउँपालिका २ टेकनपुरबाट धरान नगरपालिका १५ बसाइँ सरेका पत्रकार राई नेपाल पत्रकार सङ्घ हङकङका अध्यक्ष हुनुहुन्थ्यो । राई दुई दशकदेखि हङकङबाट प्रकाशन हुँदै आएको एभरेष्ट साप्ताहिकको सम्पादक हुनुहुन्थ्यो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहको नेतृत्वमा खटिएका प्रहरीले गएराति २ बजे शवलाई जिल्ला अस्पताल पुर्याएको थियो । राईलाई अस्पतालले मृत घोषणा गरेको हो ।
धरानबाट आफन्त आएपछि पोष्टमार्टम गरेर शव जिम्मा दिने तयारी गरिएको प्रहरी निरीक्षक शाहले बताउनुभयो।