झापा । बेला बेलामा सञ्चालन हुने खेलकुद गतिविधिहरुका कारण मानिसहरुको बाक्लो चहलपहल रहने झापाको अर्जुनधारा १ स्थित मदनपुर खेल मैदानमा आइतबारको दृश्य भने फरक रहेको थियो ।
खेलकुदभन्दा पनि चासोक तङनाम २०७८को सन्दर्भमा आयोजक चासोक तङनाम व्यवस्थापन समितिले आयोजना गरेको वृहत सांस्कृतिक एवम् शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिलाई प्रत्यक्ष हेर्न र मनोरञ्जन लिन सहभागीहरुको बाक्लो भीड थियो ।
निर्धारित समयभन्दा केही ढिलो सुरु भएको औपचारिक कार्यक्रम समापन हुनुभन्दा केही समयअघि मञ्चमा उक्लिएका राष्ट्रिय कलाकार गायक तथा संगीतकार ताराप्रकाश लिम्बूले होमवर्क चलचित्रको गीत के साँच्चै तिमी रिसाकै हौ कि‘ भन्ने गीत प्रस्तुत गरेपछि पुस महिनाको चिसो वातावरण अचानक तातिएको थियो ।
त्यो प्रस्तुतिभन्दा अघि स्थानीय कलाकारहरु लज्जन फ्याक, अमर नेम्वाङ, राजेश जवेगु, अभिनेता जीवन लिम्बूलगायतका प्रस्तुतिमा रमाइरहेका कार्यक्रमका सहभागीहरुले राष्ट्रिय कलाकार लिम्बूको प्रस्तुतिमा आफूलाई रोक्न सकेनन् र, बसेको ठाउँबाट उठेर झुम्मिन पुगे ।
औपचारिक कार्यक्रमको समापनपछि पुनः मञ्चमा उक्लिएका लिम्बूले बेबी आई लभ यू फरएभर‘ तिम्रो मिठो बोलीसँग हारे हारे‘ कसम हजुरको‘ लगायत नौ वटा गीत प्रस्तुत गरेर मनोरञ्जन दिए । यता कार्यक्रममा सहभागी भएका सबै उमेर समूहका सहभागीहरु पनि उनको प्रस्तुतिमा झुमिरहेको आयोजक समितिका सचिव एवम् कार्यक्रम सञ्चालक खगेन्द्र लिङदेनले प्रतिक्रिया दिए ।
त्यस्तै समितिले औपचारिक कार्यक्रमका बीच बीचमा प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरुको सहभागितामा सञ्चालन गरेको धान नाच, च्याब्रुङ नाच, पक्लुम लेप्मा (छेलो हान्ने), म्युजिकल ह्यान्बल, डोरी तान्ने खेल आदिले कार्यक्रममा रौनकता थपेको थियो ।
समितिका अध्यक्ष राजेश जबेगुको अध्यक्षता र अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उक्त कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग गरेका २५ जना दातालाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख रानासँगै शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीता राई लिम्बू, किरात याक्थुम चुम्लुङ पूर्व केन्द्रीय उपाध्यक्ष मीना पन्धाक, किरात याक्थुम चुम्लुङ युकेका पूर्व अध्यक्ष सुवासचन्द्र लिम्बूलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
समितिका सदस्य वीजेन्द्रकुमार एक्तेनले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव खगेन्द्र लिङदेन र सोफिया लिम्बूले संयुक्तरुपमा गरेका थिए ।