बिर्तामोड । पाँचथरको फाल्गुनन्द गाउँपालिका २ इम्बुङका इन्द्रकुमार नेम्बाङलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

 

गएको पुस ९ गते दिउँसो ४ बजे सामान्य घरायसी विषयमा वादविवाद हुँदा रिसको आवेगमा श्रीमानले आफ्नै ४५ वर्षीया श्रीमती जिवनकुमारी नेम्वाङलाई हत्या गरेको प्रहरी आरोप छ । उनले लोहोरोले टाउकोमा प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएकी थिइन् ।

 

घाइते श्रीमतीको बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा आइतवार बिहान साडे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न नेम्बाङलाई नियन्त्रणमा लिएको जनाएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरले थप अनुसन्धान गरिरहेको छ ।