अर्जुनधारा । झापाको अर्जुनधारा १ मा रहेको हचुमासा सामुदायिक वन उपभोक्ता समूहको सोमबार (हिजो) सम्पन्न निर्वाचनबाट अध्यक्षमा चन्द्रप्रसाद प्रसाई विजयी भएका छन् । प्रसाईले ३१० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नयनकुमार अधिकारीले २५५ र विजेन्द्रकुमार एक्तेनले २४२ मत ल्याए ।
यस्तै, उपाध्यक्ष पदमा सन्तबहादुर मगरले ३१९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी भरतबहादुर सुब्बाले २६९ मत पाए । यसैगरी, तीन जनाले दिएको सचिव पदको उम्मेदवारीमा प्रभा नेपाल पुनः विजयी बनेकी छन् । दोस्रो पटक विजयी भएकी उनले ३३३ मत ल्याउँदा उनकी प्रतिद्वन्द्वी पदममाया मैनालीले २०७ मत पाइन् ।
सहसचिवमा देउकुमार नेम्बाङ (विकास) २६२ मत ल्याएर विजयी भए भने प्रतिद्वन्द्वी यामबहादुर राईले २१२ मत पाएका छन् । सहसचिव पदका लागि तीन जनाको उम्मेदवारी परेको थियो ।
यसैगरी, कोषाध्यक्षमा रामसिंह लिम्बू विजयी भएका छन् । २७६ मत ल्याएका लिम्बूले अन्य ३ जनालाई पराजित गरेका हुन् । चार जनाको उम्मेदवारी परेको थियो । खुला महिला सदस्यमा लिलामाया ठकुरी, होमकुमारी गौली, मिना विश्वकर्मा र कुमारी बुर्जा मगर विजयी भएका छन् । यो पदमा १० जनाको उम्मेदवारी परेको थियो ।

दलित सदस्य पदमा मानबहादुर विश्वकर्मा ३५६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी टिकाबहादुर दर्जीले २३५ मत पाए ।
यस्तै, खुला पुरुष सदस्यमा कुमारबहादुर बस्नेत र अमृतबहादुर गौली विजयी भएका छन् । बस्नेतले २५५ मत ल्याउँदा गौलीले २०९ मत पाए । २ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका थिए ।
यसैगरी, जनजातितर्फ भएको निर्वाचनमा जगतबहादुर एक्तेन (धिरेन) विजयी भएका छन् । उनले ३४३ मत ल्याएर विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी सुमन मगरले २३३ मत पाएका थिए ।
९९५ जना मतदाता रहेको यस समूहको मतदानमा ८४१ मत खसेको थियो । कुल १३ पदका लागि विभिन्न समूहका ३८ जनाले उम्मेदवारी दिएका थिए ।