पथरीशनिश्चरे । गत माघ १८ गते रातको समयमा विराट चोकस्थित एक किराना पसलमा चोरी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका वडा नं ९ बस्ने २१ वर्षीय रोहित भण्डारी र मेचीनगर नगरपालिका वडा नं ६ बस्ने २७ वर्षीय दिलिप लिम्बू रहेका छन् । उनीहरू दुवैले मोरङको सुन्दर हरैंचा नगरपालिका वडा नं ९ विराट चोकस्थित सूर्य कट्टेलको किराना पसलमा चोरी गरेका थिए ।
कट्टेलको पसलबाट रिचार्ज कार्ड, अन्य किराना मालसामान गरी १ लाख ५० हजार बराबरको सामान चोरी गरी फरार भएका थिए । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले ४९ हजार ८ सय बराबरको रिचार्ज कार्ड र नगद २५ हजारसहित उनीहरुलाई पक्राउ गरेको थियो ।
दुवैमाथि मोरङको जिल्ला अदालतबाट चोरी कसूरमा पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।