ताप्लेजुङ । हिउँदको चिसो छल्न काठमाडौं गएका फक्ताङलुङ गाउँपालिका ६ लेलेप घुन्साका डन्डु शेर्पा दम्पती सदरमुकाम फुङलिङ आइपुगेका छन् । विगत वर्षको तालिकाअनुसार उनीहरू यतिबेला घुन्सा पुगिसक्नुपर्थ्यो । पर्यटन व्यवसायमा संलग्न उनीहरूले पाहुनाका लागि तयारी थाल्नुपर्छ ।

 

गाउँमा टम्म हिउँ जमेकाले केही दिन सदरमुकाममै बसेर जाने योजना बनाएका छन् । ‘जानै नसकिने त होइन,’ डन्डुले भने, ‘गएर पनि कुनै केही काम हुँदैन, त्यसैले एक, दुई दिन बसेर जाने योजना बनायौं ।’

 

पाथीभरा दर्शनका लागि तीर्थयात्री आउने सिजन सुरु भएको छ । काफ्ले पाटीदेखि माथिल्लो फेदीसम्मका व्यवसायीहरू फर्किसकेका छन् । कोरोना संक्रमणको जोखिम कम हुँदै गएकाले यो वर्ष तीर्थयात्रीको संख्या बढ्ला भन्ने अपेक्षा उनीहरूको छ । माथिल्लो फेदीदेखि पाथीभरा मन्दिरसम्मै हिउँ भने बिलाएको छैन । टम्म जमेको र हिउँ बिलाउँदा पैदलमार्ग चिप्लो हुन्छ । यस्तो बेला उकालो ओरालो गर्न कठिन हुने गरेको छ । मन्दिर क्षेत्रमा त अहिले पनि टम्म हिउँ जमेको मन्दिरका पुजारी डिल्ली आचार्य बताउँछन् ।

 

नेपालमा सामान्यतया मंसिर १५ देखि फागुन १५ (डिसेम्बरदेखि फेब्रुअरी) को अवधिलाई हिउँदयाम मानिन्छ । हिउँदयामको चिसो छल्न मान्छेदेखि पशु चौपायसम्म औलतिर झर्छन् । हिमाली क्षेत्रको जनजीवन सुनसान जस्तै हुन्छ । मौसमी प्रणालीअनुसार यो वर्षको हिउँदयाम सकिएको छ । तर, हिउँ भने सकिएको छैन । हिउँ पर्ने क्रम पनि नरोकिएको हिमाली क्षेत्रका बासिन्दा बताउँछन् ।

 

‘पाँच पटक त यो वर्ष ठूलो परिमाणमा हिउँ पर्‍यो,’ डन्डुले भने, ‘अलिअलि त दिनहुँजसो परिरहन्छ, यस्ले असर गर्दैन तर ठूलो हिउँ नबिलाउँदा भने समस्या हुन्छ ।’ फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा भोटे पूरै हिउँ बिलाएर सहज हिँडडुल गर्न असारसम्मै पर्खनुपर्ने बताउँछन् । ‘यो वर्ष धेरै नै हिउँ पर्‍यो,’ उनले थपे, ‘हामीलाई सिमाना टिप्ताला भन्ज्याङ, मौवाटारतिरको बाटो खुल्न असारसम्मै पर्खनुपर्छ ।’ हिउँका कारण ओलाङचुङगोला र याङमाको आवतजावत पनि नखुलेको छेतेन बताउँछन् ।

 

बाटो नभएकै कारण याङमाका बासिन्दाले कोरोनाको दोस्रो मात्रा खोप लगाउन नपाएको उनले सुनाए । ‘कात्तिकमा माथिल्लो (लेकको) बाटोबाट खोप लिएर गएको स्वास्थ्यकर्मीले डाँडा पार गर्न सकेन,’ छेतेनले भने, ‘अहिले त हिउँले जाने उपाय छैन अब वैशाख चैत अन्तिम सम्ममा पातलो भयो भने जान सकिन्छ ।’ यो सिजनमा अधिक तीर्थयात्री आउने पाथीभरामा पनि अढाई किलोमिटर बाटोमा अझै हिउँ छ ।

 

माथिल्लो फेदीको झापा होटलका सञ्चालक भीम कार्की दुई महिनापछि बल्ल मूलको पानी खान पाएको बताउँछन् । डेढ किलोमिटर टाढाबाट ल्याएको पाइपमा हिउँ जमेपछि यहाँका बासिन्दा हिउदमा बर्सेनि मूलको पानी खानबाट वञ्चित हुन्छन् । ‘अबचाहिँ हिउँ पर्दैन भन्ने यकिन भएपछि बस्ती नै उठेर पानी बनाउन जान्छौं,’ कार्कीले भने, ‘मूलदेखि नै पाइपलाई लट्ठीले हिर्काउँदै पानी चल्ने बनाउनुपर्छ ।’

 

मूलमा तातो पानी हालेर हिउँ पगालेर पाइप ठोक्न थाल्ने उनले बताए । कुनै ठाउँको हिउँ बाहिरबाट हिर्काउँदा पनि नबिलाए पाइप नै काट्नुपर्ने होटल व्यवसायी संघका अध्यक्ष इन्द्रनारायण भट्टराई बताउँछन् । पाइप बन्द भएपछिको पानी भने हिउँ पगालेर बनाउने हो । मूलको तुलनामा यसरी पगालेर बनाएको पानी कालो हुन्छ भने स्वाद पनि मिठो नहुने भट्टराई बताउँछन् ।

 

हिउँ पगाल्नु नपरोस् भनेर हिउँ पर्नुअघि नै सबैले ड्रम पुरै भरेर राख्ने गरेको भट्टराईले बताए । ‘जम्न त ड्रमको पनि जम्छ,’ भट्टराईले भने, ‘तर तातोपानी लगाएर बिलाउने र प्रयोग गर्छौं ।’ इकान्तिपुरबाट