झापा । बिहेमा मोटरसाइकल दाइजो नदिएको भन्दै विवाद गर्ने झापा गाउँपालिकाका एक युवक (बेहुला) पक्राउ परेका छन् । झापा मेचीनगर १५ ज्यामिरगढीमा शुक्रबार बिहान विवाह समारोह थियो । ज्यामिरगढीकी एक युवतीसँग विवाह गरेका उनले दुलही लैजाने क्रममा दाइजोबापत् मोटरसाइकल प्रस्ताव गरेपछि उनलाई प्रहरीको जिम्मा लगाउन गाउँले बाध्य बने ।

 

दाइजो माग्ने युवा झापा गाउँपालिकाको टाघनडुब्बाका डेबिड चौधरी हुन् । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका उनको केही महिनाअघि ती युवतीसँग फेसबुकबाट कुराकानी भएर प्रेम भएको थियो । महिनादिनअघि विदेशबाट फर्किएपछि उनी युवतीको हात माग्न आएका थिए । पारिवारिक सरसल्लाहमै विवाहको निधो भएको थियो ।

 

‘माग्न आउँदा हामीले दाइजोमा मोटरसाइकल दिन सक्दैनौं भनेर प्रस्ट पारेका थियौं, दुलाहाको परिवार मन्जुर भएको थियो,’ युवतीकी हजुरआमा रञ्जना राजवंशीले भनिन्, ‘तर आज आएर मोटरसाइकल मागेपछि प्रहरीको जिम्मा लगाउनुपर्‍यो ।’

 

राजवंशीका अनुसार दाइजोबापत टीभी, फ्रिजदेखि सोफासेटसम्मका करिब ४ लाख रुपैयाँ बराबरको सामग्री दिइएको थियो । दुलाहाले त्यो सामग्री अपूग भएको भन्दै मोटरसाइकल मागे । ‘हामीले क्षमताअनुसार साइकलचाहिँ दिएका थियौं,’ उनले भनिन्, ‘साइकलले नहुने रे !’

 

झापा जिल्ला प्रहरी कार्यालयका अनुसार बेहुलीका बुवा पुष्पलाल राजवंशीले बेहुलालाई विपक्षी बनाइ विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसुरमा जाहेरी दिएपछि चौधरीलाई पक्राउ गरिएको हो ।

 

२८ वर्षीय चौधरीलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान गरिरहेको जिप्रका झापाका सूचना प्रवक्ता तथा डिएसपी बसन्त पाठकले जानकारी दिए ।