ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका १ खोक्लिङका २४ वर्षीय विनोद कार्कीको मृत्युको कारण एक महिना हुन लाग्दा पनि खुलेको छैन । उनी वैशाख २८ को बेलुका मृत फेला परेका थिए ।

 

तेल्लावुङ कन्स्ट्रक्सनको एस्काभेटर मेसिन चलाउने कार्कीको हत्या भएको दाबी एमालेले गर्दै आएको छ । एमालेले विज्ञप्ति निकाल्नेदेखि गृहमन्त्री बालकृष्ण खाँणसम्मलाई भेटेर घटनाको छानबिन गर्न दबाब दिएको छ ।

 

जेठ १० मा एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले गृहमन्त्री खाँणलाई बुझाएको ज्ञापनपत्रमा राजनीतिक उद्देश्यबाट हत्या भएको उल्लेख छ । उनलाई घरनजिकैको भिरालो बाटोमा कुटपिट गरी निर्ममतापूर्वक हत्या गरिएको देखिएको ज्ञापनपत्रमा जनाइएको छ ।

 

सत्तारुढ गठबन्धनका तर्फबाट वैशाख २९ मा जारी विज्ञप्तिमा शवमाथि राजनीति नगर्न अपिल गरिएको थियो । विज्ञप्तिमा भनिएको थियो, ‘अपराधी जोसुकै भए पनि कानुनको दायरामा ल्याउन अनुरोध छ ।’ प्रदेश १ प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ । ताप्लेजुङका डीएसपी कैलाश राईले छिट्टै पत्ता लाग्ने बताए ।

 

स्थानीय निर्वाचनको केही दिनअघि कामबाट छुट्टी लिएर घर जाँदै थिए । कन्स्ट्रक्सनका प्रबन्धक टंक खतिवडाका अनुसार वैशाख २८ मा दोभानबाट हिँडेका उनले ६ बजे हान्द्रुङबाट बाबुलाई फोन गरेर ‘घर आउँदै छु, भाले पनि काट्नु, भात पकाइराख्नु’ भनेका रहेछन् । दोभानबाट पैदल डेढरदुई घण्टामा पुगिने भए पनि उनी साँझपछि मात्रै हान्द्रुङ बजारबाट उकालो लागेका थिए । इकान्तिपुरबाट