अर्जुनधारा । झापाको अर्जुनधारा ४ स्थित टाङटिङ नदी किनारमा व्यावसायिकरूपमा वृहत वृक्षारोपण कार्यक्रम सुरु भएको छ । कृषि वन कार्यक्रमअन्तर्गत संस्थागतरूपमा वृक्षारोपण सुरू गरिएको हो ।
स्थानीय टाङटिङ नदी नियन्त्रण उपभोक्ता समिति र अर्जुनधारा ५ स्थित दैवी प्रकोप व्यवस्थापन समूह (डीएमसी) अन्तर्गत गठन भएको कृषि वन समूहले त्यस क्षेत्रको १५ विघा जमिनमा वृक्षारोपण गर्न सुरु गरेको हो । प्रदेश नम्बर १ सरकारको “एक प्रदेश एक कृषि वन” कार्यक्रम अन्तर्गत वृहत जलाधार व्यवस्थापन केन्द्र कोशीको सहयोगमा उक्त कार्यक्रम सुरु गरिएको समूहका संयोजक मानबहादुर कार्कीले जानकारी दिए ।
गत जेठ ९ गतेदेखि नै वृक्षारोपणको लागि आवश्यक कार्यहरु सुरु भएको उक्त कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष ०७८र०७९मा १० लाख रुपैयाँ बजेट विनियोजन भएको बताइएको छ । समितिका अनुसार त्यस क्षेत्रमा ६ हजार ५ सय बिरुवा रोपिने भएको छ ।
तीन हजार बाँसका बिरुवा, एक हजार पाँच सय आँपका बिरुवा, एक हजार जडिबुटीजन्य बिरुवा, पाँच सय कटहरका बिरुवा र पाँच सय मलेसियन सालका बिरुवा रोपिने समूहका सचिव खेम काफ्लेले जानकारी दिए ।
४८ जना सदस्य आबद्ध रहेको समूहले उक्त कृषि वनबाट संस्था र जग्गादाता दुवै पक्ष लाभान्वित हुने सचिव काफ्लेले बताए । उनी भन्छन्, ‘संस्था र जग्गाधनीलाई कति प्रतिशत भन्ने निर्णय भएको छैन, तर त्यसको पनि टुङ्गो लगाउने छौं ।’
यसैबीच आठौं राष्ट्रपति चुरे संरक्षण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रमको औपचारिकरुपमा उद्घाटन गरिएको छ । समूहका संयोजक कार्कीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन अर्जुनधारा ४ वडा समितिका अध्यक्ष अम्बरबहादुर कटुवालले बाँस रोप्दै गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव काफ्लेले गरेका थिए ।