दमक । स्थानीय रतुवा खोलामा आएको बाढीका कारण खोलान किनारमा कटान हुँदा १२ घरपरिवार विस्थापित भएका छन् । आइतबार राति करिब १० बजे आएको बाढीका कारण दमक ७ को रेडक्रस भवन पूर्वमा रहेका १२ घरपरिवार विस्थापित भएका हुन् ।

 

प्रहरीका अनुसार रतुवा खोलामा आएको बाढीले गर्दा दमक ७ स्थित रेडक्रस भवन पछाडि खोला किनार नजिक रहेको बस्तीमा बाढीले कटान गरेको थियो । कटानका कारण स्थानीयको घरमा क्षति पुगेकोले नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्दार गरी सुरक्षित स्थान तथा आफन्तहरुको घरतर्फ सारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

१२ घरपरिवार अन्यन्त्र सारियाे

प्रहरीका अनुसार खड्ग लिम्बू, विष्णु लिम्बू, सुबास लिम्बू, रामकुमारी लावती, गोमा तामाङ, सुर्यमान आचार्य, बिमल किस्कु, राजेस किस्कु, मनोज मास्के, भारती तामाङ, लाक्पा शेर्पा र डिकबहादुर गुरुङको घरमा बाढीले क्षति पुर्याएको प्रहरी प्रवक्ता एवं डिएसपी वसन्त पाठकले जानकारी दिएका छन् । उनीहरूलाई सुरक्षित स्थान तथा आफन्तहरुको घरतर्फ सारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

गौरादहका २५ घर डुबानमा

यसैबीच, सोमबार एकाबिहानै सोही खोलामा आएको बाढी गौरादह नगरपालिकाको ६ नम्बर वडामा पस्दा २५ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गौरादह ६ स्थित टंगुवा बस्तीमा पानी पस्दा २५ घर डुबानमा परेको हो ।

 

प्रहरी टोली घटनास्थल पुग्दा कम्तिमा २ फिट पानी पसेको प्रवक्ता पाठकको भनाइ छ । पानी घट्ने क्रममा रहेकोले थप क्षति नभइ स्थानीयलाई अन्यत्र सार्न नपरेको जनाइएको छ ।