काठमाण्डौ । देशका धेरै ठाउँमा पानी परिरहेको छ । पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी परेको छ । पूर्वी क्षेत्रमा मनसुनी न्यून चापीय रेखा सरदर ठाउँको आसपासमा नै रहेकाले त्यस क्षेत्रमा ठूलो वर्षा भइरहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।

 

पछिल्लो ३, ४ घण्टादेखि झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै ठाउँमा ठूलो वर्षा भएको छ । यी क्षेत्रमा थप ठूलो पानी पर्न सक्ने अनुमान गरिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । यी जिल्ला भइ बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने अनुमान गरिएको छ ।

 

महाशाखाका अनुसार सबैभन्दा बढी झापामा ७५ दशमलव ४ मिलिलिटर पानी परेको छ । एक घण्टाभित्र झापाको दक्षिणी सीमा क्षेत्रमा उक्त परिमाणको पानी परेको हो । झापाकै मेचीनगरका ४३ दशमलव २ मिलिलिटर पानी परेको छ ।

 

यस्तै, दमक क्षेत्रमा ६३ दशमलव २ मिलिलिटर पानी परेको छ भने उदयपुरको चौदण्डीगढी आसपास ६६ दशमलव २ मिलिलिटर पानी परेको महाशाखाले जनाएको छ । सुनसरीको इटहरी र धरान क्षेत्रमा २३ देखि ३० मिलिलिटर पानी परेको महाशाखाले जनाएको छ । अहिले पनि पूर्वी क्षेत्रमा पानी निरन्तर परिरहेको छ ।

 

डुबान भइरहने होचा ठाउँ र साना नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । पूर्वी क्षेत्र बाहेक देशका अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

 

काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी, लुम्बिनी, मधेस प्रदेश र प्रदेश १ मा वर्षा भइरहेको हो । आज राति पनि पानी पर्ने अनुमान गरिएको छ ।