बिर्तामोड । झापाको बिर्तामोड नगर क्षेत्रबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक महिलासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिर्ताबजारबाट बुट्टाबारीतर्फ अटोमा जाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा बिर्तामोड ४ पुरानो बिजुली अफिस छेउस्थित भित्री सडक खण्डमा बिर्ताबजारबाट बुटाबारीतर्फ जाँदै गरेको मे १ ह २९२१ नम्बरको अटोलाई चेकजाँच गर्दा अटो चालक सुनसरी घर भइ हाल बिर्तामोड ४ बस्ने ४० वर्षीय उमेश चौधरीलाई हिजो (शनिबार) दिउँसो २ः३० बजे पक्राउ गरेको हो ।
उनको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ४ ग्राम २०० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीमाथि सोधपुछ गर्दा सिराहा अमरुवा गाउँपालिका ५ घर भइ हाल बिर्तामोड ३ बिर्ताबजारमा डेरा गरी बस्ने २७ वर्षीया प्रतिक्षा चौधरीसमेत संलग्न रहेको खुलेको थियो ।
प्रतिक्षाको कोठाबाट समेत प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ५ ग्राम गरी जम्मा ९ ग्राम २०० मिलिग्राम र दुवै जनालाई अटोसहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त थापाले जानकारी दिए ।