झापा । सामाजिक सञ्जाल फेसबुक ‘ह्याक’ गर्ने गिरोहका तीन जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। अरुको फेसबुक ‘ह्याक’ गरेर नक्कली ई-सेवा आईडी प्रयोग गर्दै सर्वसाधारणमाथि ठगी गर्ने धन्दामा संलग्नलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए।

 

उनका अनुसार पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका ६ का १९ वर्षीय आशिष विष्ट, १८ वर्षीय प्रवीण राजवंशी र भवेश राजवंशी रहेका छन्। लुकिछिपी बसेको अवस्थामा झापाको भद्रपुरबाट बुधबार पक्राउ गरी तीनै जनाविरुद्ध ठगी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी राईले बताए।

 

उनका अनुसार पक्राउ परेको गिरोहले सुरुमा सुनसरीको इटहरी उपमहानगरपालिका २ का डिल्लीबहादुर राउतको फेसबुक अकाउण्ट ‘ह्याक’ गरेको थियो। आफ्नो फेसबुक ‘ह्याक’ भएको भनेर राउतले सुनसरी प्रहरीमा गत जेठ १२ गते निवेदन दिएका थिए। ‘ह्याक’ गरेको गिरोहले आफू समस्यामा परेको भनेर फेसबुकमा जोडिएका साथीहरुलाई म्यासेन्जरमार्फत म्यासेज पठाउँदै नक्कली ई-सेवा आईडी खडा गरी रकम पठाउन लगाएर ठगी गरिरहेको उजुरी राउतले दिएका थिए।

 

उजुरीको अनुसन्धान अघि बढाएको प्रहरी अन्ततः फेसबुक ‘ह्याक’ गर्ने गिरोहसम्म पुग्न सफल भएको हो। सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालका अनुसार गिरोहले नयाँ ‘सफ्टवेयर’ बनाउँदै ‘ब्युटी कन्टेस्ट’मा भोट दिनुहोस् भनेर विभिन्न व्यक्तिलाई झुक्याउँदै म्यासेज पठाएर उनीहरुका फेसबुक ‘ह्याक’ गर्ने र पासवर्ड चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

 

पासवर्ड चोरी गरिसकेपछि म्यासेन्जरमार्फत नजिकका साथीहरुलाई आफू बिरामी परेकाले उपचारका लागि रकम पठाइदिनु भन्दै नक्कली म्यासेज पठाएर ठगी गर्ने गरेको उनको भनाइ छ।

 

‘फेसबुक ‘ह्याक’ गरिसकेपछि पासवर्ड चोरी गरेर म्यासेन्जरमार्फत म्यासेज पठाउँदै नक्कली ई-सेवा आईडीमा पैसा ‘ट्रान्सफर’ गर्न लगाउने गरेको पाइयो,’ एसपी ढकालले भने, ‘हालसम्मको अनुसन्धानबाट सर्वसाधारणका २५ वटाभन्दा बढी फेसबुक आईडी ‘ह्याक’ गरेको खुलेको छ।’ उनका अनुसार अरुको फेसबुक ‘ह्याक’ गरेर हालसम्म दुई लाख रूपैयाँभन्दा बढी रकम ठगी गरेको पाइयो।

 

पक्राउ परेकाहरु ‘कम्प्युटर साइन्स’का विद्यार्थीसमेत रहेको खुलेको छ। उनीहरुले ‘सफ्टवेयर डेभ्लप’ गरेर धेरै सर्वसाधारणलाई ठगी गरेको हुनसक्ने ढकालको भनाइ छ। अन्नपूर्ण पोष्टबाट