झापा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको छ। देशैभरी आंशिकदेखि सामान्य बदली रही प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

 

सोमबार देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

अहिले बबई नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । यसको जलाधार क्षेत्र दाङको तुलसीपुर, घोराई आसपासमा ठूलो वर्षा भइरहेकाले अझै नदीमा पानीको सतह बढ्ने अनुमान गरिएको छ ।

 

बाढी पूर्वानुमान महाशाखाले बाढीको खतरा रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै, बर्दियाको रम्बापुर, रानी जरूवा नर्सरी, धनवास लगायत कैलाली, कञ्चनपुर, डडेलधुरा, प्युठानको केही ठाउँमा पनि ठूलो वर्षा भएको र थप हुनसक्ने महाशाखाले जनाएको छ ।

 

बबईका सहायक नदी लगायत कान्द्रा, मोहना, रङ्घुन, चौधर नदीमा आकस्मिक बहाव हुनसक्ने भएकाले बिहान ९ बजेसम्म नै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

 

त्यस्तै मंगलबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।