झापा । झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र अन्य लागूपदार्थसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार झापाको मेचीनगर नगरपालिका ६ मा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान १६ सुनसरीका ३७ वर्षीय युसुफ सुब्वा र २७ वर्षीय थोमस राईलाई पक्राउ गरेको हो । भारतबाट नेपाल आउँदै गरेका उनीहरुको साथबाट १ ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।
यस्तै, १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा धरान उप-महानगरपालिका १५ का ३२ वर्षीय निश्चल बुढाथोकीलाई १ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
यसैगरी, प्रहरी चौकी कुशेचौरी मोरङबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका पथरी शनिश्चरे ९ का २८ वर्षीय मिलन भण्डारी र २० वर्षीय अभिषेक लिम्बूको साथबाट ६०० मिलिग्राम ब्राउनसुगर र ट्रामाडोल ४८ चक्की, स्पाईसपेन ८५ चक्कीसहित पक्राउ गरेको हो ।
पक्राउ परेका पाँचै जनाको थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।