बिर्तामोड । बिर्तामोड नगरपालिकाले सडक सुन्दरताको लागि भद्रपुररोडमा फूल रोप्ने कार्य शुरु गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईले बुधबार सिजिएम जातको फूलको बिरुवा रोपेर यस कार्यको थालनी गरेकी हुन् ।

 

नगरपालिकाले बिर्तामोड-भद्रपुर सडक खण्डअन्तर्गतको मुक्ति चौकदेखि धौलापुलसम्मको भागमा रहेको डिभाइडरभित्र विभिन्न जातका फूल रोप्ने कार्य अघि बढाएको हो ।

 

सिजिएम, मयुरधुपी, फक्सटेल पार्म, सितारलगायत विभिन्न जातका बिरुवा रोपिने नगरपालिकाले जनाएको छ । यस क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर कुनै पनि संघसंस्थाले फूल रोप्न चाहेमा दिन सकिने नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले बताए ।

 

नगर प्रमुख प्रसाईसंगै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ४ का वडाध्यक्ष राहुलकुमार शर्मा, वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दंवा, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमिया, नगरका शाखा अधिकृत मेघराज बाँस्तोला र कार्यपालिका सदस्यहरुले फूलका बिरुवा रोपेका थिए ।

 

नगरपालिकाले डिभाइडरमा केही दिन अघिदेखि बिरुवा रोप्नको लागि उपयुक्त माटो ल्याएर बिच्छ्याएको थियो ।