झापा । पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापा शिवसताक्षी १ फुलबारी चोकमा भएको सवारी दुर्घटनामा परी एक दुई वर्षीया बालिकाको मृत्यु भएको छ । साेही दुर्घटनामा बालिकाका बुबा र आमा घाइते भएका छन् ।

 

हिजो (बुधबार) दिउँसो २ः२० बजे शिवसताक्षी फुलबारी चोकस्थित पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकल र सिटी सफारी एक आपसमा जुध्दा दुर्घटना भएको थियो । दुर्घटनामा परी बुद्धशान्ति गाउँपालिकाकी २ वर्षीया बालिकासहित आमाबुबा घाइते भएका थिए ।

 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १-०१-००२ ह ७२९ नम्बरको सिटी सफारी दक्षिणबाट उत्तरतर्फ क्रस गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको प्र १-०१-०१३ प ७३०८ नम्बरको मोटरसाइकलसंग एकापसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

 

दुर्घटनामा मोटरसाइकल चालक बुद्धशान्ति २ बस्ने ३५ वर्षीय कमल मिश्रको बाहिरी चोट नदेखिएको, सोही मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती २७ वर्षीया संगीता मिश्रको टाउको तथा शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

 

सोही दुर्घटनामा परी उनीहरुका २ वर्षिया छोरी संस्कृति मिश्रको बायाँ हातको कलाईको भाग चुँडिएर बिएण्डसी हस्पिटलमा उपचार भइरहेको थियो । उपचारकै क्रममा आज बिहान ५ः३० बजे घाइते बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

 

दुर्घटनापछि मोटरसाइकल, सिटी, सिटी चालक शिवसताक्षी १ बस्ने ६० वर्षीय पदम पाण्डेलाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको डिएसपी पाठकले जानकारी दिए ।