झापा । आज लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण काठमाण्डौको सामाखुसीमा रहेको तक्षशिला एष्ट्रोनमी क्लबले देखाउने व्यवस्था मिलाएको छ ।

 

सामाखुसीको एकेडेमी भवनको छतबाट निःशुल्क चन्द्रग्रहण देखाउने व्यवस्था गरिएको वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिए । भरे बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लाग्ने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो ।

 

ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ । बेलुकी ५ बजेर १३ मिनेटमा सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिने छ। बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिन्छ ।

 

१ घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिनेछ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । यसअघि गएको ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो ।

 

ग्रहण लाग्नु नौ घण्टा अघिदेखि नै सुतक लाग्ने भएकाले शास्त्रीय मान्यता पछ्याउनेहरुले आज बिहान ८ बजेर ११ मिनेटपछि भोजन गर्न नहुने जनाइएको छ । तर, बालबालिका, वृद्धवृद्धा, बिरामी र अप्ठेरो अवस्था हुनेहरुलाई भने त्यसको प्रदोष नलाग्ने पनि शास्त्रीय ब्याख्या रहेको छ ।

 

खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अति कष्टदायक रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

 

समितिका अनुसार यो ग्रहणले मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ र कर्कट राशिलाई सुख फल दिनेछ। यस्तै सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट, तुला राशिलाई स्त्रीपीडा र वृश्चिक राशिलाई सुख फल मिल्नेछ।

 

धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि समितिद्वारा मान्यताप्राप्त पात्रोमा उल्लेख छ।