काँकरभिट्टा । झापाको मेचीनगरबाट प्रतिबन्धित ब्राउन सुगरसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर १० स्थित कनिष्का धर्मकाँटाबाट प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो बुधबार साँझ करिब ६ बजे इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले देश भारत राज्य पश्चिम बंगाल जिल्ला दार्जीलिङ नक्सालबारी ग्राम पञ्चायत कवलाजोत बस्ने वर्ष २३ को सारदिन महमदलाई पक्राउ गरेको हो ।
निजलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ४५ ग्राम फेला परेकोले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता वसन्त पाठकले जानकारी दिएका छन् ।