झापा । शिवसताक्षी नगरपालिका १० को टेक्रास्थित माइखोलामा मृत अवस्थामा फेला परेका पदमलाल बाँस्तोलाको हत्या भएको पुष्टि भएको छ । पुस ७ गते (हिजो बिहीबार) बाँस्तोलाको शव फेला परेको थियो ।

 

प्रहरीका अनुसार अन्दाजी ३ बजेर ४० मिनेटमा शिवसताक्षी १० टेक्रास्थित माईखोलाको पूर्व साइडको बगरको डिल कासघाँरीमा कन्काई नगरपालिका वडा नम्बर ४ का ५५ वर्षीय बाँस्तोला मृत अवस्थामा भेटिएको थियो । घटनाको सम्बन्धमा छानविन गर्दा आफ्नै बुहारी (भाइको श्रीमती) ४८ वर्षीया रनमाया बाँस्तोलालाई शंका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

 

अनुसन्धान गर्ने क्रममा बुहारी रनमाया बाँस्तोलाले पुस ६ गते मृतकसँग घाँस काट्न गएको बेला हसियाँ प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको झापा प्रहरीले जनाएको छ ।

 

 

घटनामा संलग्न बुहारी रनमाया बाँस्तोलालाई इलाका प्रहरी कार्यालय झिलझिले झापामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता वसन्त पाठकले जनाएका छन् ।