शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा बुझाउनुपर्ने सम्पत्ति कर अब अनलाइन सेवाबाट भुक्तानी गर्न सकिने भएको छ । नगरपालिकाका मेयर बलदेव गोम्देनले आज आयोजित कर तथा राजश्व विद्युतीय भुक्तानी (ई पेमेन्ट) सेवाको उद्घाटन गरे । घरजग्गाको राजश्वलगायत नगरपालिकालाई तिर्नुपर्ने राजश्व विभिन्न भुक्तानी प्रदायक अनलाइन संस्थामार्फत घरैमा बसेर भुक्तानी गर्न सकिने नगरपालिकाका सूचना प्रविधि अधिकृत विनोद खनालले जानकारी दिए ।

 

उनका अनुसार २०७६ देखि नै नगरपालिकामा अनलाइन सेवा उपलब्ध भएर एकै स्थानबाट नगरभित्रबाट आफूलाई पायक पर्ने स्थानमा गएर सम्पत्तिको कर तिर्ने व्यवस्था थियो । तर, विद्युतीय भुक्तानीको सेवाले जहाँ बसे पनि नगरलाई तिर्नुपर्ने राजश्व अनलाइन एप्समार्फत भुक्तानी गर्न सकिने सूचना प्रविधि अधिकृत खनालले बताए ।

 

उनका अनुसार विद्युतीय भुक्तानीबाट जरिवाना हुनबाट जोगाउने, विभिन्न एप्सबाट सहजरुपमा भुक्तानी गर्न सकिने, समयको बचत, यातायात खर्च पनि जोगिने भएकाले प्रभावकारी बन्ने नगरपालिकाको बुझाइ छ ।

 

विद्युतीय भुक्तानीका लागि नगरबासीले ईसेवा, खल्ती, आईएमई पे, प्रभु पे र कनेक्ट आईपीएस एप्स प्रयोग गर्नुपर्ने हुन्छ । जसको प्रयोगबाट नगरपालिकाको https://tax-arjundhara.softechnp.com अर्जुनधारा नगरपालिका करदाता पोर्टलमा रजिष्टर गर्न सकिन्छ ।

 

नगरपालिका र वडा कार्यालयको कर संकलन प्रणाली सफ्टवेयरमा करदाताको रुपमा दर्ता भएपछि सफ्टवेयरले जेनेरेट गरेको आफ्नो आधिकारिक ८ अंकको करदाता संकेत प्राप्त गरिसकेपछि मात्र पोर्टलमा युजर नेम र पासवर्ड प्रयोगपछि आफ्नो विवरण र कर भुक्तानी गर्न सकिने जनाइएको छ ।

 

विद्युतीय भुक्तानीको उद्घाटन गर्दै मेयर गोम्देनले निर्वाचनताका नगरलाई प्रविधि र प्राविधिकमैत्री बनाउने प्रतिवद्धता पूरा गर्दै लगिएको सुनाए । उनले कार्यसम्पादनमा अब्बल सावित गर्न पनि प्रविधिमैत्री हुन जरुरी रहेको बताए । प्रशासन शाखाका कर्मचारी साैजन कटुवालले सञ्चालन गरेकाे कार्यक्रममा वडा कार्यालयकाे लागि तयार गरिएकाे क्युआर काेड १ नम्बर वडाध्यक्ष उपेन्द्र बस्नेतलाई मेयर गाेम्देनले हस्तान्तरण गरेका थिए ।

 

प्रारम्भिक तथ्यांकअनुसार अर्जुनधारा नगरपालिकाको जनसंख्या ८४ हजार ४२९ रहेको छ भने १८ हजार ९९५ घरधुरीमा २० हजार ९७८ घरपरिवारको बसोबास रहेको जनाइएको छ । झापा जिल्लाका १५ पालिकामध्ये विद्युतीय भुक्तानी गर्ने अर्जुनधारा दोस्रो हो । यसअघि कनकाई नगरपालिकामा सुरु गरिएको थियो ।