शनिश्चरे । झापाको अर्जुनधारामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । सामान्य घरायसी विवादमा कुटपिट भएपछि ३७ वर्षीया प्रमिला भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्जुनधारा-९ खरबन्दीस्थित वीरबहादुर भुजेलको घरमा भाडामा बस्दै आएका विशवराज घिसिङ र प्रमिलाबीच मंगलबार साँझ ६ः१५ बजे घर झगडा भएको थियो । सामान्य कुटपिटकै क्रममा प्रमिलाको मृत्यु भएको ३५ वर्षीय विश्वराजले प्रहरीलाई बयान दिएका छन् ।
प्रहरीका अनुसार भोजपुरको अरुण गाउँपालिका वडा नम्बर १ स्थायी घर भएका विश्वराज ४ वर्षदेखि अर्जुनधारा ९ स्थित खरबन्दीमा बस्दै आएका थिए । मिस्त्री काम गर्दै परिवार पाल्दै आएका विश्वराजको श्रीमती प्रमिलासँग सामान्य विवादका क्रममा कुटपिट भएको बताइएको छ ।
मृतक प्रमिलाकी ८ वर्षकी छोरी छन् । प्रमिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा राति नै पठाइएको छ भने श्रीमतीको हत्या आरोपमा थप अनुसन्धानका लागि विश्वराजलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।