दमक । झापाको दमकबाट लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना युवती रहेका छन् । उनीहरु ब्राउनसुगरको कारोबारी रहेको बताइएको छ । पक्राउ पर्नेमा झापा र इलामका युवायुवती रहेका छन् ।

 

झापाको दमक नगरपालिका १ स्थित कुमाल चोकमा रहेको एक होटलमा ब्राउनसुगरको बिक्री वितरण भइरहेको भन्ने विशेष सूचना प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेहरुमा इलाम चुलाचुली गाउँपालिका ४ का ३२ वर्षीय वीरबहादुर लिम्बू, दमक ३ की २४ वर्षीया प्रेमकुमारी तामाङ, १९ वर्षीया दिक्षा योगी र फाकफोकथुम गाउँपालिका ३ घर भई दमक ९ मा बस्ने ३३ वर्षीय बिदुर पौडेल रहेका छन् ।

 

उनीहरुको साथबाट प्रहरीले ९ ग्राम ब्राउसुगर र ४ थान मोवाइल बरामद गरेको छ । लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

यसअघि लागूऔषधको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ बाट स्थानीय ३० वर्षीय प्रलाद कार्कीलाई १ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।