पाँचथर । विभिन्न प्रजातिका गुराँसका फूलले ढकमक्क हुने उच्च पहाडी क्षेत्रमा यसवर्ष रौनक छैन । गुराँस नफुलेपछि पर्यटकको उपस्थिति पनि कम देखिएको छ । कुल ३२ प्रजातिका गुराँस पाइने पाँचथरको याङवरक गाउँपालिका १ सुकाढाप तथा लामपोखरी क्षेत्रमा यसवर्ष छिटफुट मात्रै गुराँस फुलेको देख्न पाइन्छ ।
सीमित रुखमा मात्रै गुराँस फुल्नुका साथै फुलेका रुखमा पनि ढकमक्क गुराँस भेट्न पाइन्न । लालीगुराँस फुल्ने याङवरक १ कै च्याङथापू बजारदेखि सीमावर्ती चिवाभञ्ज्याङसम्मका क्षेत्रमा समेत निकै कम गुराँस फुलेको छ । फालेलुङ गाउँपालिकाको फालोट क्षेत्र तथा फिदिम नगरपालिकामा पर्ने सुकेपोखरी, लोहकिल क्षेत्रमासमेत गुराँस फुलेको छैन । राष्ट्रिय समाचार समितिमा समाचार छ ।
याङवरक १ नन्दकुमार राईका अनुसार वर्ष विराएर गुराँस फुल्ने गर्दछ । यसवर्ष भने गुराँसको कोपिला लागेको समयमा असिना परेका कारण गुराँस नफुलेको हो । ‘यो वर्ष गुराँस फूल्ने वर्ष होइन्, वर्ष बिराएर गुराँस फुल्दछ’, राईले भने, ‘अलिअलि कोपिला लागेका गुराँसमा असिनाले नोक्सान गर्यो ।’ गुराँस नफुल्दा पर्यटकको सङ्ख्या कम भएको राईको भनाइ छ ।
याङवरककै लक्ष्मण राईका अनुसार वातावरणीय असन्तुलनका कारण गुराँस नफुलको हो । ‘यो वर्ष तुलनात्मक रुपमा कम गुँरास फुल्ने पालो हो तर यति कम भने हुँदैन थियो’, राईले भने, ‘असिनाले पनि गुराँसलाई क्षति गर्यो ।’
गुराँसको राजधानी मानिने तीनजुरे-मिल्के-जलजले क्षेत्रमा गुराँसकै अध्ययनमासमेत खोजकर्ता आउने गर्दछन् । प्रशस्तै गुराँस फुलेपनि पाँचथरमा पर्ने उच्च पहाडमा सीमित आन्तरिक पर्यटकले रमाइलो मात्रै गर्ने गर्दछन् ।