सुनसरी । सुनसरीको धरानस्थित दुई छुट्टाछुट्टै स्थानबाट २ थान इटालियन पेस्तोलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ जना एकैघरका दाजुभाइ पनि छन् ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १७ डाँडा घोपाका २९ वर्षीय हुकमेन जिमी, उनका भाइ २४ वर्षीय दिपक जिमी र धरान १५ का २४ वर्षीय रोहित राई रहेका छन् । विशेष सूचनाको आधारमा वैशाख ३१ गते राति प्रदेश प्रहरी कार्यालय विराटनगरको (आरआइटी) समुह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

प्रहरीको संयुक्त टोलीले हुकमेन जिमी र दिपक जिमीलाई उनको घरकोठाबाट नियन्त्रणमा लिई सोधपुछको क्रममा हुकमेन जिमीले २ थान पेस्तोल खरिद गरी ल्याएकोमा १ थान दिपक जिमीलाई राख्न दिएको र १ थान रोहित राईलाई दिएको भनि बयान दिएअनुसार थप रहस्य खुलेको हो ।

 

प्रदेश प्रहरीका अनुसार घर पश्चिम रहेको सर्दुखोला नजिकको झाडीमा झोलामा लुकाइछिपाई राखिएको तर नचल्ने अवस्थामा रहेको १ थान पेस्तोल प्रहरीले बरामद गरेको थियो । यस्तै, सोही राति रोहित राईको घरकोठा खानतलासी गर्दा पलङको डस्नामुनी लुकाइराखेको अवस्थामा म्याग्जिनसहितको मेड इन इटाली लेखेको १ थान पेस्तोलसहित राईलाई पक्राउ गरेको हो ।

 

दुई वटा पेस्तोलसहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसान्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।