शनिश्चरे । स्थानीय तहमा कानुनी ढंगबाट न्याय सम्पादनको क्रममा नागरिकहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले झापाको अर्जुनधारामा न्यायिक समितिको क्षेत्राधिकार विषयक दुईदिने अभिमुखीकरण कार्यक्रम शुक्रबार सुरु भएको छ ।
जनप्रतिनिधि एवम् मेलमिलापकर्ताहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको समितिकी संयोजक तथा नगर उप्रमुख खड्गमाया पराजुलीले बताइन् । उनका अनुसार समाजमा हुने मुद्दा मामिलामा सहजीकरण गर्न सहज होस् भन्ने हेतुले कानुन व्यवसायी र विज्ञहरुबाट अभिमुखीकरण आयोजना गरिएको हो ।
झापा जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतले कार्यक्रमको उद्घाटन गर्दै आफ्नो समाजभित्रका मुद्दा समाजबाटै समाधान गर्ने हेतुले न्यायिक समितिको निर्माण भएको बताए ।
आफ्नो क्षेत्राधिकारभित्रको मुद्दा आफैँ समाधान गर्ने उद्देश्य रहेको न्यायिक समितिको अवधारणा राम्रो भएको भन्दै अर्जुनधारा न्यायिक समितिको काम कारबाही प्रशंसनीय रहेको पनि उनले सुनाए ।
सहभागीलाई न्यायिक समितिको गठनसम्बन्धी संवैधानिक तथा कानूनी व्यवस्था, न्यायिक समितिको निर्णय गर्न पाउने र मेलमिलाप गर्नुपर्ने मुद्दाहरु, न्यायिक समितिको संयोजक तथा सदस्यहरुको आचरण, मुद्दाको सुनुवाई प्रक्रिया, आदेश, फैसला, पुनरावेदन र फैसला कार्यान्वयन, स्थानीय तहले पारित गरेको कार्यविधि, न्यायिक समितिले जानकारीमा राख्नुपर्ने सम्बद्ध कानूनलगायतका विषयमा जानकारी गराइने बताइएको छ ।
पहिलो दिन अधिवक्ता तारा बाराकोटी, दीर्घसिंह पौडेल र हेमकला कट्टेलले सहजीकरण गरे भने भोलि जिल्ला न्यायाधीश बस्नेतलगायत अधिवक्ताहरुले सहजीकरण गर्ने कार्यक्रम रहेको छ । मेलमिलापकर्ता मुकुन्द भण्डारीलगायतले मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन कर्मचारी मायाकुमारी ऐरले गरेकी थिइन् ।
न्यायिक समितिका सदस्य टुम्मनाथ काफ्लेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेको कार्यक्रममा एक सय जनाभन्दा बढीको सहभागिता रहेको कर्मचारी ऐरले जानकारी दिइन् । कार्यक्रममा जनप्रतिनिधि र मेलमिलाकर्ताहरुको सहभागिता रहेको छ ।