शनिश्चरे । लागुऔषध दुव्यर्सनको बढ्दो तथ्यांकका कारण वडा स्तरबाटै न्यूनीकरण गर्ने उद्देश्यले झापा अर्जुनधारा १ को युवा समितिले सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
‘लागूऔषध बाट टाढा बसौं’ भन्ने मुख्य नारासहित शनिबार स्थानीय हचुमासा सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा आयोजित कार्यक्रममा टोल विकास समितिबाटै लागुपदार्थको सेवनमा न्यूनीकरण र दुव्यर्सनविरुद्ध अभियान सञ्चालन गर्न लागिएको युवा समितिका अध्यक्ष तिवेन्द्र काफ्लेले जानकारी दिए ।
१ नम्बर वडाध्यक्ष उपेन्द्र बस्नेतले कार्यक्रमको उद्घाटन गर्दै नगर र वडा कार्यालय भौतिक विकास निर्माणसँगै सामाजिक विकासलाई पनि प्राथमिकतामा राखेर अघि बढेको दाबी गरे । उनले टोल विकास समिति, राजनीतिक दल, संघसंस्थासँगै स्थानीय अभिभावकलाई युवा समितिको अभियानमा सरिक हुन आग्रह गरे ।
वडामा ५ वटा टोल विकास समिति रहे पनि कार्यक्रममा अधिकांशको उपस्थिति न्यून रहेको भन्दै वडाध्यक्ष बस्नेत र आयोजक युवा समितिका अध्यक्ष काफ्लेले चिन्ता व्यक्त गरे ।
समितिका सचिव युकेश फुयलको सञ्चालन तथा उपाध्यक्ष राम खड्काले स्वागत गरेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी खुदुनाबारीका सभापति मुकुन्द भण्डारी र नेरेसो अर्जुनधाराका सचिव कमल पोख्रेलले युवा पुस्ता लागुऔषधको कुलतमा फस्दै गरेको भन्दै अभिभावक सचेत हुन जरुरी रहेको औँल्याए ।
उनीहरुले परिवारका सदस्य कुलतमा फसे पनि त्यसको असर अभिभावक र समाजमा देखा परेको भन्दै लागुऔषध दुव्यर्सनको विरुद्धको खुलेर लाग्न आग्रह गरेका छन् । समयमै राेक्न नसके भयावह अवस्था सिर्जना हुने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।
सचेतना कार्यक्रममा सहजकर्ताद्वय मानवअधिकारकर्मी दीपक दास र अर्जुन लिम्बूले सहजीकरण गरेका थिए । समितिले अब ५ वटा टोल विकास समिति, ३ वटा विद्यालयमा सचेतनामुलक अभियान सञ्चालन गर्ने युवा समितिका अध्यक्ष काफ्लेले जानकारी दिएका छन् ।