अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा तीनदिने लेखनसीपसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाको आयोजना तथा टाइम्स मिडिया नेटवर्कको सहजीकरणमा कार्याशाला भएको हो ।

 

अर्जुनधारास्थित पितृ मोक्ष भवनमा आयोजित लेखनसीप कार्यक्रममा नगरक्षेत्रका ४० जनाको सहभागिता रहेको थियो । वडा कार्यलयहरुको सिफारिसमा सहभागीहरुलाई न्यायिक समितिसम्बन्धी लेखनसीप प्रदान गरिएको अर्जुनधारा नगरपालिकाले जनाएको छ ।

 

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले समापन कार्यक्रमा बोल्दै तालिममा लिएको ज्ञानलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरे । गाउँघरमा हुने ससाना झैँझगडादेखि मुद्दा मामिलामा कागज तयार गर्ने बेला सचेत हुन जरुरी रहेको उनले सुनाए । नजानेको कुरा सिक्नुपर्छ भन्दै घमण्ड गर्न नहुने र कानुबारे थाहा छैन, जान्दिनँ भन्दा क्षम्य नहुने उनको भनाइ थियो ।

 

यस्तै, नगर उपप्रमुख तथा न्यायिक समितिकी संयोजक खड्गमाया पराजुलीले न्याय निरुपणका लागि लेखनसीप अपरिहार्य भएको बताइन् । उनले गाउँघरमा सामान्य कागज बनाउन पनि समस्या भइरहेकोले नगरका तर्फबाट लेखनसीपको आयोजना गरिएको जानकारी दिइन् ।

 

कार्यक्रममा न्यायिक समितिका सदस्य टुम्मनाथ काफ्ले, सहभागीका तर्फबाट केदार खतिवडाले आफ्ना अनुभव सुनाएका थिए । टाइम्स मिडिया नेटवर्क प्रालिका अध्यक्ष नारायणप्रसाद पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख गोम्देन, उपप्रमुख पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईलगायतले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

 

सहजकर्ताहरु अधिवक्ताद्वय चुँडामणि पराजुली र हेमकला कट्टेलले सहजीकरण गरेको तालिममा प्रतिउत्तर लेखन, उजुरी लेखन, फिरात लेखन, संयुक्त उजुरी लेखन, जाहेरी आदि बारे सहजिकरण गरिएको कार्यशालाका कार्यक्रम संयोजक एवम् सञ्चारकर्मी प्रदीप परियारले जानकारी दिए ।