झापा । झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा दुई हप्तादेखि रेविजविरुद्धको भ्याक्सिन अभाव हुँदा बिरामी उपचार नगराई फर्कन बाध्य भएका छन् ।

 

प्रदेश सरकारसँगै रेविजविरुद्धको भ्याक्सिन अभाव हुँदा अस्पताल प्रशासनले गत जेष्ठ २३ गते नै भ्याक्सिन सेवा बन्द गरिएको भनी सूचना टाँस गरी बिरामीलाई जानकारी गराइसकेको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए ।

 

‘अस्पतालमा मासिक ५०० भ्याक्सिन खपत हुन्छ’, १५ दिनदेखि अस्पतालमा भ्याक्सिन छैन’, सूचना अधिकारी पोखरेलले भने, ‘अस्पतालले प्रदेश सरकारसँग भ्याक्सिन माग गरेपछि त्यहाँ पनि नरहेको जानकारी आयो ।’

 

प्रदेश सरकारले खरिद गरेपछि मात्र अस्पताललाई भ्याक्सिन पठाउने र अनि मात्र पुनः सेवा सुचारु हुने उनले बताए । संक्रमित कुकुर, अन्य कुनै घरपालुवा तथा जंगली जनावरले टोकेलगत्तै रेविज रोगविरुद्धको भ्याक्सिन स्वास्थ्य संस्थामा गएर बिरामीले लगाउनुपर्छ ।

 

जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पतालमा भ्याक्सिन अभाव हुँदा बिरामी समस्यामा परेका छन् ।