फिदिम । जिल्लाकै दुर्गम मानिने याङवरक गाउँपालिका १ खोलाघारी चोकमागुमा गएको पहिरोका कारण विस्थापित भएका पीडितलाई तुइनमार्फत राहत सामग्री पठाइएको छ ।

 

असार ४ गते विस्थापित भएका उनीहरूलाई हेवा खोलामा तुइन टाँगेर खोला पारी बुधबार साँझ पहिलोपटक राहत सामग्री पठाइएको हो ।

 

जिल्ला सदरमुकाम फिदिमदेखि १६ कोष टाढा रहेको खोला घारी चोकमा २२ घरका ९० जना विस्थापित भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिएका छन् । पहिरोका कारण विस्थापित भएका नागरिक स्थानीय लेखनाथ राई र मोहन राईको आँगनमा त्रिपाल टाँगेर बसेका छन् ।

 

विस्थापित नागरिकले खाद्यान्न सकिएको भन्दै फोन गरेपछि उपाय झिकेर सामग्री पठाइएको प्रजिअ मग्रातीको भनाइ छ । तुइन बनाउन १२० मिटर लट्ठा र त्यसको दोब्बर डोरी प्रयोग गरिएको छ । एक पटकमा ९० किलो सामग्री तार्न सकिन्छ । तुइन बनाउन उद्योग वाणिज्य सङ्घ, प्रहरी र प्रशासनले सहकार्य गरेका हुन् । गोरखापत्रबाट