बिर्तामोड । झापाको बिर्तामोडमा डेंगी रोगको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । यसवर्ष पहिलोपटक जिल्लामा डेंगी संक्रमणबाट मृत्यु भएको हो ।
बिर्तामोड ५ की ४४ वर्षीया मदिना खातुनको डेंगी संक्रमणबाट मृत्यु भएको हो । डेंगी पुष्टि भएको भोलिपल्ट उनको मृत्यु भएको परिवारले जनाएको छ । ज्वरो आउने, हातखुट्टा दुख्नेजस्तो समस्या भएपछि उनलाई बुधबार बालाजी फर्मामा परीक्षण गरिएको थियो ।
चिकित्सकले डेंगी भएको र औषधि खाँदै आराम गर्नु भन्ने सल्लाह दिएपछि घरमा ल्याएर राखिएकोमा बिहीबार बिहान ६ः३० बजे मृत्यु भएको मृतकका छोरा मिराज आलमले जानकारी दिए । तर, त्यस विषयमा बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी प्राप्त नभएको बताएको छ ।
गर्मी र वर्षा मौसममा झापामा डेंगी रोगको संक्रमण बढ्दै गएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार विगत पाँच दिनमा १२ जनामा डेंगी रोगको संक्रमण देखिएको थियो । साउन १ देखि ५ गतेसम्म ४ महिला र ८ पुरुषमा डेंगी संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका बरिष्ठ तथ्यांक अधिकृत चुडामणि लुइँटेलले बताए ।
संक्रमितमध्ये ६ जना अस्पताल भर्ना भएको उनले जानकारी दिए । डेंगी संक्रमणबाट गत असोजमा दुई जनाको मृत्यु भएको थियो ।