झापा । मेची राजमार्गको पाँचथर खण्ड अन्तरगत फिदिम नगरपालिका २ सामदिनमा मङ्गलबार भएको ट्याक्सी दुर्घटनामा मृत्यु हुने यात्रुको सङ्ख्या तीन पुगेको छ ।

 

पछिल्लो पटक ताप्लेजुङ मिक्वाखोला ५ पापुङकी हिसेडोल्मा शेर्पाको निधन भएसँगै यो सङ्ख्या बढेको हो । झापाको बिएण्डसी अस्पतालको आइसियुमा उपचाररत उनको आज (बिहीबार) बिहान साढे १ बजे मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

 

यसअघि ताप्लेजुङ मैवाखोला गाउँपालिकाकै एक व्यक्तिको सोही दुर्घटनामा परी ज्यान् गएको थियो । मैवाखोला १ ढुङ्गेसाँघुका ४२ वर्षीय जितेन्द्रमणिविक्रम वनेमको निधन भएको थियो ।

 

यस्तै, उक्त दुर्घटनामा परेकी फिदिम नगरपालिका १० याङनामकी ३५ वर्षीय सविना विश्वकर्माको उपचारकै क्रममा बिर्तामोडको बिर्तासिटी अस्पतालमा मृत्यु भएको थियो ।

 

झापादेखि फिदिम जाँदै गरेको मे १ ज १९४१ नम्बरको ट्याक्सी मेची राजमार्गको फिदिम सडकखण्ड अन्तरगत फिदिम २ सामदिनमा दुर्घटना हुँदा सविना र जितेन्द्रसँगै १४ जना घाइते भएका थिए ।