झापा । चन्द्रगढीस्थित झापा कारागारका कैदीबन्दीहरु आन्दोलित भएका छन् । उनीहरुले कारागारभित्र आगजनी समेत गरेका छन् । कारागारमा रहेका कैदीको सरुवाको विषयलाई लिएर आन्दोलित भएका हुन् ।

 

प्रहरीका अनुसार कारागारमा रहेका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीवन्दीहरु आन्दोलनमा उत्रिएका हुन् । कैदीबन्दीहरुले कारागारभित्र नारावाजी गरेका थिए।

 

यसैबीच, कारागारभित्रबाट धुँवाको मुस्लो उडेको बाहिरबाटै प्रष्ट देखिन्थ्यो । कारागारका कैदीबन्दीबीचको झडप करिब १ घण्टा पछि नियत्रणमा आएको बताइएको छ । सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीवन्दीहरुले ढुंगा हान्ने र आगजनी गर्ने काम गरेका थिए ।

 

हिजो कारागार प्रशासनले कारागारमा रहेका कैदी लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णय गरेको थियो । सरुवाको पक्ष विपक्षमा कारागारका कैदीवन्दीबीच झडप भएको बताइएको छ । अहिले कारागारका चौकीदारसंग छलफल चलिरहेको एक प्रहरी अधिकारीले बताएका छन् ।

 

कैदीबन्दीहरुले कारागारभित्र नारावाजी गरेका थिए । धुँवाको मस्लो देखिएपछि भद्रपुर, मेचीनगर र विर्तामोडको दमकलले आगो निभाएका थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो संख्या कारागार बाहिर तैनाथ गरिएको थियो । कैदी लावतीलाई तत्काललाई सरुवा नगर्ने र कारागार विभागको निर्देशनअनुसार गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

 

उनले कैदीबन्दीले सामान्य ढुंगा हानेको र मुढा बनाउन कारागारभित्र लगिएका टायर बालेको बताए । त्यसबाट खासै क्षति नभएको उनले जानकारी दिए ।