डेंगुको लार्भा जाँच गर्दै दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराई ।

दमक । झापाको दमक नगरपालिकामा आर्थिक अवस्था कमजोर भएकाहरुका लागि डेंगुको सङ्क्रमण जाँच निःशुल्क व्यवस्था गरिएको दमक नगरपालिकाले जनाएको छ ।

 

डेंगु परीक्षणको मापदण्डअनुसार लक्षण देखिएकाको वडा ६ को आधारभूत स्वास्थ्य केन्द्रमा गएर निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताए ।

 

कार्यापालिका बैठकबाट आवश्यक परीक्षणका लागि चाहिने किट किन्ने र वडा ६ को आधारभूत स्वास्थ्य केन्द्रमा परीक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेबमोजिम काम शुरु भएको उनले बताए । अस्पताल भर्ना भएर उपचार गराउनुपर्ने अवस्थाका विपन्न बिरामीलाई दमक अस्पतालमा उपचारको व्यवस्था गरिएको उनले जानकारी दिए ।

 

दमकमा डेंगु सङ्क्रमण फैलिरहेको छ । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईका अनुसार वार्ड कार्यालयमार्फत टोल विकास संस्थालाई परिचालन गरेर डेंगुको सङ्क्रमण फैलाउने लार्भाहरु नष्ट गर्ने कार्य निरन्तर भइरहेको छ । सबैको साथ र सहयोग भएन भने महामारी रोक्न सकिँदैन, उनले भनिन् ।

 

दमकमा डेंगुबाट धेरै बालबालिका प्रभावित बनेको पाइएको छ । दमकस्थित किओच बाल अस्पतालमा साउन महिनाको यो अवधिमा ५० जनाभन्दा बढी बालबालिका जाँच तथा उपचारका लागि अस्पतालमा आएका छन् ।

 

दैनिकरुपमा ३ देखि ४ जना डेंगुका बिरामी बालबालिका अस्पताल आउनेगरेको अस्पतालका बालरोग विशेषज्ञ डा जयमणि श्रेष्ठले बताए ।