मेचीनगर । झापाको मेचीनगर ८ मा एक जना युवकको विभत्स हत्या भएको छ । मेचीनगर ८ का ४३ वर्षीय सुन्दर किसानको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको हो ।

 

हिजो (बुधबार) बेलुका खाना खाएर उनी घरबाट निस्केका थिए । आज बिहान उनको शव फेला परेको हो । शवको प्रकृति हेर्दा विभत्स तरिकाले हत्या गरिएको देखिन्छ ।

 

रातभरि घर नफर्किएका श्रीमानको चप्पल घरदेखि डेढ किलोमिटर पर सडकमा उनका श्रीमतीले आज बिहान ७ बजे देखेकी थिइन् । चप्पल नजिकै रगत थोपाहरू देखा परेपछि उनले तत्काल प्रहरीलाई खबर गरेकी थिइन् ।

 

त्यसपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेका थिए । किसानको खोजीका लागि प्रहरीले सुनसरीको धरानबाट ‘ट्रयाकर डग’ समेत मगाएको थियो । ‘ट्रयाकर डग’ आउनुभन्दा अघि नै किसानको शव बिहान साढे १० बजे फेला परिसकेको थियो ।

 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले घटनाका बारेमा अनुसन्धान भइरहेको बताए । जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।