भद्रपुर । झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८ को अगुवाइ र अग्रसरतामा आजदेखि मेची (प्रादेशिक) अस्पताल भद्रपुरको एक सय मिटरवरिपरि मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्री गर्नेलाई कारबाही गरिने भएको छ ।
वडा अध्यक्ष गौरव सुब्बा (मनोज)को तदारुकतामा एक महिनाअघि नै स्थानीय व्यापारीहरुलाई मदिरा र सूर्तीजन्य पदार्थ भदौ १ गतेदेखि नबेच्न म्याद दिइएको थियो । वडा कार्यालयले सोसम्बन्धी सचेतना बोर्ड राख्नुका साथै अभियान पनि चलाएको थियो ।
अस्पतालवरिपरि मदिरा तथा सूर्तीजन्य पदार्थ बेच्न नपाउने कानुन भए पनि व्यापारीले अटेर गर्दै आएको थिए । त्यही भएर भदौ १ गते आजदेखि मदिरा र सूर्तीजन्य पदार्थ बेचेको भेटिए सो ठाउँमा दस हजार रुपैयाँ जरिवाना गरिने निर्णय भएको वडा अध्यक्ष सुब्बाले जानकारी दिए ।
यसअघि अस्पतालकै गेटछेउमा रहेका पसलमा खुलेआम मदिरा र सूर्तीजन्य पदार्थको बिक्री र प्रयोग हुँदै आएको थियो । आसपासमा झन्डै एक दर्जनजति त्यस्ता पसल छन् ।