झापा । तीर्थयात्राका लागि भारत गएका झापाकी एक महिलाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । अर्जुनधारा ९ स्थित कार्कीडाँडा निवासी ५५ वर्षीया शारदा कार्कीको मृत्यु भएको हो ।
उनका श्रीमान जगतबहादुर कार्की र बिर्तामोड निवासी अनन्तलाल महत्तोका ससुरा बैजु महत्तो घाइते भएका छन् । मंगलबार राति भारतको भागलपुरमा भएको सवारी दुर्घटनामा दुईजना महिला तीर्थयात्रीको मृत्यु भएको थियो भने तीन महिलासहित ६ जना गंभीर घाइते भएका थिए । त्यसमध्ये एकजना मृतक र दुईजना घाइते नेपालका हुन् ।
मंगलबार राति करिब सवा ९ बजेतिर भागलपुर-हंसडीहा मुख्य सडकअन्तर्गत रजौन थाना क्षेत्रको केशव वाटिका विवाह भवन बनगाउँनजिक तीर्थयात्रीहरु चढेको अटोलाई कारले ठक्कर दिएको थियो ।
अटोमा १२ जना सवार रहेका थिए । उनीहरु बासुकीधाम पुगेर नवगछियातर्फ जाँदै गर्दा दुर्घटनामा परेको जनाइएको छ । झापाका मृतक र घाइतेहरुलाई आज नेपाल ल्याउन लागेको मृतकका आफन्त मिकी कार्कीले जनाएका छन् ।