झापा । गायिका आनी छोइङ डोल्माले दमक बाल अस्पताललाई एक करोड ८० लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आनी छोइङ डोल्मा फाउण्डेसनका तर्फबाट काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका प्रमुख प्राडा भगवान कोइरालालाई उक्त सहयोग राशि प्रदान गरिएको हो ।

 

फाउण्डेसनका तर्फबाट आनीका सांगीतिक गुरु तथा गीतकार दुर्गालाल श्रेष्ठले उक्त रकमको चेक प्राडा कोइरालालाई प्रदान गरे । ‘मैले संगीतबाट जुन उपलब्धि हासिल गरें, त्यो हजुरहरुकै कारणले हो । म यो उपलब्धिलाई तपाईंहरुसामु बाँड्न चाहन्छु,’ कार्यक्रममा बोल्दै आनीले भनिन्, ‘सत्कर्म गर्नसके धर्म मिल्छ भन्ने मलाई लाग्छ ।’

 

स्वस्थ समाज निर्माणका लागि आफ्नो योगदानले मद्दत मिल्ने आशा उनले व्यक्त गरिन् । कार्यक्रममा डा कोइरालाले नेपालमा बाल स्वास्थ्यको अवस्थाबारे प्रकाश पारेका थिए । एक हजार बालबालिका जन्मिँदा उपचार नपाएर ३३ जनाको मृत्यु हुने तथ्यांक कोइरालाले पेश गरे ।

 

‘ती सबै मृत्यु रोक्न सकिने खालका थिए’, उनले भने, ‘सोहीअनुसार अब संस्थामार्फत सबै प्रदेशमा भौतिक संरचनासहितको स्याटेलाइट बाल अस्पताल सञ्चालन गर्ने लक्ष्य छ ।’

 

बालबालिकालाई उपचारको अभावबाट हुने क्षति र अपांगताबाट बचाउनु तथा परिवारलाई गरिबीको दुश्चक्रबाट जोगाउनु आफूहरुको उद्देश्य रहेको डा कोइरालाले बताए । उक्त परियोजनाअन्तर्गत झापाको दमकमा बाल अस्पताल सञ्चालनमा आइसकेको छ । सेवा सुरु भएको चार महिनामै यसले ठूलो संख्यामा बहिरंग र अन्तरंग सेवा प्रदान गरेको उनले जनाए ।

 

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ७ मा हब अस्पतालको रुपमा बहुविशिष्टकृत बाल अस्तालको निर्माण सुरु भएको पनि उनले जानकारी दिए । आनी छोइङ डोल्माले पछिल्लो समय संगीतमार्फत समाजसेवा गरिरहेकी छन् । उनले हालै नेपाल र भारतमा च्यारिटी कन्सर्ट सम्पन्न गरेकी छन् ।