फिदिम । डेंगी संक्रमित फाट्टफुट्ट देखा पर्न थालेयता लामखुट्टे धपाउन किटनासक छर्ने र सरसफाइको अभियान चलाउँदा पनि पहाडी जिल्ला पाँचथरमा बिरामीको संख्या घटेको छैन ।

 

भदौ १५ देखि असोज ३ गतेसम्म २० दिनको अवधिमा संक्रमितको संख्या ३ सय ३ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

 

सबैभन्दा धेरै संक्रमित फिदिम नगरपालिकामा छन् । यो नगरपालिकामा मात्रै हालसम्म २ सय ३७ जनालाई संक्रमण पुष्टि भइसकेको जिल्ला जनस्वास्थ्य प्रमुख तेजबहादुर तुम्बापोले बताए ।

 

यस्तै हिलिहाङ गाउँपालिकामा २६, फालेलुङमा १२, कुम्मायकमा ९,फाल्गुनन्दमा २ जना र जिल्ला बाहिर ठेगाना लेखिएका १० जना संक्रमित उपचारार्थ स्वास्थ्य संस्थामा पुगेको जनस्वास्थ्य कार्यालयको तथ्यांकमा छ ।

 

जिल्ला जनस्वास्थ्य प्रमुख तुम्बापोका अनुसार फिदिममा बिहीबार एकैदिन २८ जनालाई डेंगी संक्रमण पुष्टि भएको छ । पाँचथरमा जिल्ला अस्पताल र गणेशमानसिंह सामुदायिक अस्पतालमा मात्रै डेंगी परीक्षण हुँदै आएको छ ।

 

केही निजी क्लिनिकले पनि परीक्षण गरिरहेका छन् । तर, उनीहरुले गरेको परीक्षणको तथ्यांक प्राप्त नभएको जिल्ला जनस्वास्थ्य तुम्वापो बताउँछन् । डेंगी नियन्त्रणका लागि नगरपालिकाले किटनासक औषधि छर्ने र सरसफाइका अभियान चलाइरहेको बताइएको छ ।