अर्जुनधारा । झापाका पालिकाहरुमा कार्यरत कर्मचारी आन्दोलित भएका छन् । सरकारले जारी गर्न लागेको संघीय निजामती ऐनविरुद्ध कर्मचारी आन्दोलित भएका हुन् ।

 

आन्दोलन सफल पार्नका लागि आज अर्जुनधारा नगरपालिकाको सभा हलमा भएको एक भेलाले २६ सदस्यीय संघर्ष समितिसमेत गठन गरेको छ । जसको संयोजकमा नेत्रप्रसाद पोख्रेल रहेका छन् । उनी भद्रपुर नगरपालिकाका आठौँ तहका कर्मचारी हुन् ।

 

सोही भेलाले पोख्रेलकै संयोजकत्वमा ९ सदस्यीय सचिवालयसमेत गठन गरेको छ । जसको सहसंयोजकमा चिरञ्जीवी खवास, प्रवक्तामा राजु गिरीलाई चयन गरेको छ भने सदस्यमा निर्मला आचार्य, डेनिस कडरिया, डिल्ली नेपाल, गोविन्द रिजाल, तेजेन्द्र तामाङ र सुनिता सुवेदी रहेका छन् ।

 

सरकारले मस्यौदा गरेको संघीय निजामती ऐन स्थानीय तहमा कार्यरत कर्मचारीको हितविपरीत रहेको भन्दै कर्मचारी आन्दोलित बनेको प्रवक्ता गिरीले बताए । उनका अनुसार कर्मचारीको सरुवा, बढुवा, सेवा सुरक्षालगायत एकीकृत निजामती कर्मचरी ऐन बनाउन माग गरिएको छ ।

 

‘राज्यबाट सेवा सुविधा लिएका सबै किसिमका कर्मचारी एकै हुन् भन्ने मान्यता सरकारको होस् भन्ने हाम्रो माग हो’, उनले भने, ‘समायोजन, प्रदेश लोक सेवा, जिल्ला समन्वय समिति र साविक स्थानीय तहबाट समायोजन भएका कर्मचारी भनेर छुट्याउन हुन्न ।’ प्रस्तावित निजामती विधेयकबाट स्थानीय तहका कर्मचारीलाई दोस्रो दर्जाको कर्मचारी बनाउने सरकारको षडयन्त्र भएको उनीहरुको आरोप छ ।

 

कर्मचारी हकहित मञ्च अर्जुनधाराका अध्यक्ष चिरञ्जीवी खवासको अध्यक्षतामा भएको भेलामा झापाका १५ पालिकामध्ये १४ पालिकाका कर्मचारी उपस्थित थिए । भेलाकाे संयाेजन मञ्चका बरिष्ठ उपाध्यक्ष खगेन्द्र लिङदेनले गरेका थिए भने सञ्चालन मञ्चका सचिव साैजन कटुवालले गरेका थिए ।