झापा । मोटरसाइकलको एयर फिल्टरमा ब्राउनसुगर लुकाएर ल्याउने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका २ का ४२ वर्षीय दीपकप्रसाद प्रसाईँ रहेका छन् ।

 

बुधबार साँझ ५ः३० बजेको समयमा मेचीनगर नगरपालिका वडा नं ६ स्थित काँकडभिट्टा भन्सार गेट अगाडि इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

 

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको मे. ५ प ५७०९ नम्बरको मोटरसाइकलमा सवार प्रसाईँलाई शङ्का लागेर चेकजाँच गर्दा मोटरसाइकलको एयर फिल्टरमा लुकाई छिपाई ल्याउँदै गरेको ४ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।