झापा । देशभरको मौसम बदली भएको छ । आज र भोलि देशभरकै मौसम बदली हुने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

 

मौसमविद् गोविन्द झाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज देशका अन्य ठाउँमा पनि पानी पर्ने सम्भावना छ । आज गण्डकी र लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद् झाले जानकारी दिए ।

 

यस्तै, भोलि कोशी, मधेस र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । अन्य ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ । भोलि पनि देशभरको मौसम बदली हुने मौसमविद् गोविन्द झाले बताए । पानी पर्ने सम्भावना रहेकाले तत्काल धान नकाट्न पनि किसानलाई मौसविद्ले सुझाव दिएका छन् ।

 

काटेको धानमा पानीले नोक्सानी गर्न सक्ने भएकाले नकाट्न सुझाव दिइएको हो । मौसमविद् गोविन्द झाका अनुसार पर्सिदेखि भने मौसम खुल्दै जाने सम्भावना छ ।