काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका दिन कैद मिनाहा पाएर जेलमुक्त भएका पश्चिम रुकुमका लोकबहादुर विक अर्को हत्या आरोपमा पक्राउ परेका छन् ।

 

पश्चिम रुकुमको सानीभेरी गाउँपालिका ९ का विक कारागार मुक्त भएको तीन साता नवित्दै प्रेमिकाको हत्या आरोपमा पक्राउ परेका हुन । मुसीकोट ७ की २७ वर्षीया भावना विकको हत्या आरोपमा उनी पक्राउ परेका हुन् ।

 

गत मंगलबार मुसिकोट नगरपालिका १ खलङ्गाको एक होटलमा भावना मृत अवस्थामा फेला परेकी थिइन् । होटलको कोठामा घाँटी रेटेर हत्या गरी सिरकले छोपेर छाडेको अवस्थामा भावनाको शव फेला परेको थियो । तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान गर्दा लोकबहादुरबाट हत्या भएको पत्ता लागेको प्रहरीले जनाएको छ ।

 

श्रीमान् वैदेशिक रोजगारीमा रहेकी भावना र लोकबहादुरबीच प्रेम सम्बन्ध रहेको देखिएको र भावनाले बिहे गर्न दबाब दिएपछि लोकबहादुरले हत्या गरेको अनुसन्धानबाट खुलेको पनि प्रहरीले जनाएको छ । बहुविवाहको मुद्दामा जेल परेका विक ६ महिना पनि जेल नबस्दै राष्ट्रपतिबाट माफी पाएर कारागार मुक्त भएका थिए ।