झापा । घाँस काटिरहेको बेला कालो अरिंगालको टोकाइबाट इलाममा एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार इलाम नगरपालिका १२ स्थित साङरुम्बामा एक जनाको मृत्यु भएको हो ।

 

मंगलबार बिहान ९ बजेतिर इलाम १२ साङरुम्बाका ५९ वर्षीय यामबहादुर लिम्बू र दशैँमा ससुराली आएका उनका ज्वाइँ सोही ठाउँका ३० वर्षीय सन्तोष लिम्बूलाई अरिंगालले टोकेको थियो । छिमेकीको बारीमा घाँस काटिरहेको अवस्थामा चिलाउनेको रूखमा रहेको अरिंगालको गोलो उनीहरुमाथि खनिएको थियो ।

 

दुवै जनालाई जिल्ला अस्पताल इलाम ल्याइ उपचार भइरहेकोमा सन्तोषलाई बढी टोकेका कारण थप उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड रिफर गरी पठाइएको थियो । त्यहाँ पनि उपचार संभव नभएपछि बिर्तासिटी अस्पताल ल्याइएकोमा साँझ ७ः४५ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी प्रकाश जवेगुका अनुसार अवस्था सामान्य रहेका यामबहादुरको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ ।