झापा । कतार सरकारले आफ्नै साथीको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाइएका झापा कनकाई नगरपालिका ४ त्रिवेणी टोलका ३३ वर्षीय सुवाष राउत स्वदेश फर्किएका छन् ।

 

तीन वर्ष पहिले आफ्नै रुममा बस्ने खोटाङ्ग ऐँसेलुखर्कका लामाकाजी राईको हत्या आरोपमा सुबाषलाई कतार सरकारले मृत्युदण्डको सजाय सुनाएको थियो ।

 

राउतले बिदाका दिन अन्य कम्पनीका साथीहरु समेत आफ्नो कोठामा आएको र झगडा पर्दा राईको मृत्यु भएको बताइएको छ । राईको मृत्युका कारण राउतलाई लगाएर कतार प्रहरीले मृत्युदण्डको सजाय सुनाएको थियो ।

 

तर, उक्त घटनामा आफू निर्दोष रहेको राउतले बताउँदै आएका थिए । राउतलाई विदेशमा मृत्युदण्डको सजाय सुनाएसँगै स्वदेशमा रहेका दुई छोराछोरी, श्रीमती कुमारी, बुबा जितबहादुर र आमा दुर्गामायाको विजोग भएको थियो ।

 

उक्त खबर सुनेसँगै आमा दुर्गामायाको निधन भएको थियो । कतारमा मृत्युदण्डको सजाय सुनाएसँगै स्थानीयबासीको पहलमा ब्लडमनि तिर्नका लागि रकम सङ्कलन गरी पीडित परिवारलाई रकम बुझाएर तीन वर्ष पछाडि राउतलाई स्वदेश फर्काइएको हो ।

 

राउतलाई स्वदेश फकाउनका लागि तत्कालीन वडाध्यक्ष गोविन्द पौडेलको संयोजकत्वमा समिति समेत गठन गरिएको थियो । उक्त समितिले स्वदेश तथा विदेशमा रहेका नेपालीबाट २० लाख २४ हजार रुपियाँ रकम सङ्कलन गरेको थियो । राउत स्वदेश फर्किएसँगै आइतबार गाउँमा भव्य स्वागत गरिएको छ ।

 

झापा क्षेत्र नम्बर ४ का सङ्घीय सांसद लालप्रसाद साँबा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरल, उपप्रमुख आशा शर्मा शिवाकोटी, प्रदेश सरकारका कृषि मन्त्री हिराकुमार थापा, कनकाई नगरपालिका ४ का वडाध्यक्ष रोशन सुवेदी लगायतले स्वदेश फर्किएका राउतलाई स्वागत गरेका छन् ।

 

कार्यक्रममा आफू यसरी स्वदेश फर्किएर आउँछु भन्ने विश्वास नलागेको अब कहिल्यै पनि विदेश नजाने स्वदेशमै केही गर्ने सोच बनाएको राउतले बताए ।