अर्जुनधारा । झापाको अर्जुनधारा १ स्थित मदनपुरमा आयोजित चासोक तङनाम (उधौली पर्व) धुमधामका साथ मनाइएको छ । चासोक तङनाम व्यवस्थापन समितिको आयोजनामा ३ दिने कार्यक्रम आज भव्यरुपमा सम्पन्न भएको हो ।

 

कार्यक्रममा शुभकामना आदानप्रदान, जातीय सांस्कृतिक झाँकी प्रदर्शन, भेट्रान फुटबल प्रतियोगिता, आधारभूत विद्यालयस्तरीय हाजिरीजवाफ, छेलो हान्ने प्रतियोगिता, डोरी तान्ने प्रतियोगितालगायतको कार्यक्रम आयोजना गरिएको थियो ।

 

समितिका अध्यक्ष राजेश जबेगुको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अर्जुनधाराका प्रमुख बलदेवसिंह गोम्देन तामाङले गरेका थिए ।

 

प्रमुख अतिथि तामाङले स्थानीय सामाजिक व्यक्तित्व रत्न हाङसुरुम्बाको सहयोगमा खेलमैदान परिसरमा निर्माण गरिएको लिम्बू समुदायको सांस्कृतिक बाजा ‘च्याब्रुङ’को प्रतिरुपसहितको च्याब्रुङ स्तम्भको उद्घाटन गरेका थिए ।

 

कार्यक्रममा किरात राई यायोक्खा अर्जुनधाराले साकेला सिली, नेपाल तामाङ घेदुङ संघ अर्जुनधाराले सेलो नाच, अर्जुनधारा–१ स्थित नालिफुङवा माङलाङ केलाङ टोली र अर्जुनधारा–१०स्थित चोमोलुङ किरात याक्थुम केलाङ समाजले केलाङ माङलाङ, धिमाल जाती विकास केन्द्र पथरीशनिश्चरेले मौलिक नृत्य प्रस्तुत गरेका थिए ।

 

सोही कार्यक्रममा स्वास्थ्य क्षेत्र दीर्घ सेवा सम्मानबाट अर्जुनधारा-९ निवासी लालबहादुर लिम्बू ‘सुब्बा डाक्टर’लाई सम्मान पत्र र दोसल्ला ओढाई नगद पाँच हजारबाट सम्मानित गरिएको थियो ।

 

किरात याक्थुम चुम्लुङ राष्ट्रिय परिषद् सदस्य कृष्णकुमार थेवेले चासोक तङनामको औचित्यबारे जानकारी गराएको कार्यक्रममा उपप्रमुख खड्गमाया पराजुली, वडाध्यक्षहरु उपेन्द्र बस्नेत, सीताराम भट्टराई, अम्बरबहादुर कटुवाल, गीताराज खड्का ‘हरि’ र भूपेन्द्र न्यौपाने, नेपाल आदिवासी जनजाति महासंघ अर्जुनधाराका अध्यक्ष कर्णबहादुर तामाङ, नेवा देय दबु अर्जुनधाराका अध्यक्ष रुद्रमणि श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

त्यस्तै कार्यक्रममा सहभागीहरुलाई किरात मौलिक परिकारहरु प्रसादका रुपमा वितरण गरिएको थियो । समितिका सदस्य मोहन सुब्बाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव खगेन्द्र लिङदेन र सदस्य वीजेन्द्रकुमार एक्तेनले संयुक्तरुपमा गरेका थिए ।