काठमाण्डौ । बागलुङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनाकै परिचय खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा रुकुम पश्चिम मुसिकोट नगरपालिकाका धेरै छन् ।
प्रहरीका अनुसार दाङका १८ वर्षीय लक्की पुनमगर, रुकुम पश्चिम मुसिकोट १ की २७ वर्षीया बिनिता केसी, मुसिकोट २ रातामाटाका बसधनी बबि ददेल नेपाली, मुसिकोट ४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट ३ साँखकी कल्पना केसी, रोल्पा घर भएका बस चालक सुवास गौतम भनिने मानसिंह विक रहेका छन् ।
यसैगरी, गोरखा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुम पूर्व सिस्ने गाउँपालिका ५ रुमालबाराका २५ वर्षीय विक्रम परियार रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए ।
दुर्घटनामा २८ जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाण्डौका लागि छुटेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस हिजो बेलुका बागलुङको निसीखोला गाउँपालिका-६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । बस सडकबाट १५० मिटर तल खसेको थियो ।
सात जनाको घटनास्थलमै र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ज्यान गएको हो । घाइतेमध्ये २१ जनाको धौलागिरी अस्पताल बागलुङ र ५ जनाको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केसीले जानकारी दिएका छन् ।