झापा । झापाको बाह्रदशी गाउँपालिकास्थित बिरिङ पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ ५ बजे बाह्रदशी गाउँपालिका २ स्थित बिरिङ पुलबाट मे ७ प १०२७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

 

प्रहरीका अनुसार मोटरसाइकल चालक झापा गाउँपालिका ४ का २३ वर्षीय अलागिर हक, मोटरसाइकल पछाडि सवार २६ वर्षीय मोहम्मद हुसेन र २१ वर्षीय मन्जिर रुलहकलाई १७ ग्राम ७४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए ।

 

ब्राउन सुगरसहित पक्राउ परेका सबै जनाविरुद्ध प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जनाएका छन् ।