झापा । काठमाण्डौ उपत्यकासहित देशका मध्य तथा पूर्वी क्षेत्रमा वर्षा भएको छ । हिजोदेखि शुरु भएको झरी आज पनि कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशका केही ठाउँ तथा कोशी र मधेश प्रदेशका धेरै ठाउँमा हल्का वर्षा भइरहेको छ ।

 

दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने मौसमविद सञ्जिव अधिकारीले जानकारी दिए । भोलि र पर्सिको मौसम पनि यस्तै रहने उनको भनाइ छ । उनका अनुसार तीन दिनसम्म मौसम पूर्णरुपमा सुधार हुने सम्भावना छैन । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले पानी परेको हो ।

 

महाशाखाका अनुसार विशेषगरी कोशी, मधेस र बाग्मती प्रदेशमा वर्षा भएको छ । यस्तै लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा पनि पानी परेको छ ।

 

पानी परेपछि किसान खुशी भएका छन् । तराई र पहाडी क्षेत्रमा मकै लगाउने सिजन भएकाले अहिलेको वर्षाले राहत पुगेको छ । यस्तै गहुँ, तोरी, मुसुरो लगायतका हिउँदेबाली र तरकारी बालीमा पनि फाइदा गरेको छ । साथै वनजङ्गलमा लागेको डढेलो निभाउन पनि अहिलेको पानीले सहयोग पुर्‍याएको छ ।